(The) Metamorphosis
AN ILLLUSTRATED NEPALI EDITION OF FRANZ KAFKA'S NOVELLA
Translated by Ram Khatri | Illustrations: Sandipan Santra
Format:
Paperback
$12.99
eBook
$4.99
Available on:
अनौठो सपनाबाट एकाबिहानै ओछ्यानमा ब्युँझिंदा ग्रेगोर स्याम्साले आफ्नो शरीर डरलाग्दो कीरोमा परिणत भएको पायो । तत्पश्चात् उसले आफ्नो ‘घुमुवा विक्रेता’ पेशालाई निरन्तरता दिन सक्दैन । एक्लै बाँच्नुको पीडा, भेदभावी मातापिताको रूखो व्यवहार तथा पूरै परिवारले नै ग्रेगोरलाई गरेको घृणा र बेवास्ता अनि उसमा छाएको जीवनप्रतिको नैराश्यलाई रोचक ढङ्गले यस कथामा उतारिएको छ । फ्रान्ज काफ्काको ‘द मेटामोर्फसिस’ विश्वसाहित्य बजारमा अत्यधिक रूचाइएको र कैयौं भाषामा अनूदित कृतिमध्ये एक हो ।
एउटा सफल भाषिक अनुवाद
फ्रान्ज काफ्काको ‘द मेटामोर्फसिस‘ आधुनिक पश्चिमेली साहित्यको एउटा उत्कृष्ट नमुना हो । उनका ‘द ट्रायल‘ (परीक्षा) तथा ‘द काशल‘ (किल्ला) जस्ता प्रख्यात उपन्यासहरूले जस्तै यस कथाले पनि पश्चिमेली साहित्यिक आख्यानको जगतमा एउटा महत्त्वपूर्ण आयाम थपेको थियो । काफ्काका रचनाहरूमा अतियथार्थवादी प्रयोगधर्मिता र व्यङ्ग्यात्मक यथार्थवादको अनौठो सङ्गम पाइन्छ । एकातिर अतियथार्थवादी प्रयोगको माध्यमले उनी मानव अवचेतनका गहिरा त्रासदीपूर्ण सत्यहरूलाई केलाउँछन् भने अर्कोतिर आधुनिक पुँजीवादी समाजका विरोधाभाषहरूतिर पनि त्यत्तिकै दरिला व्यङ्ग्यहरू कस्दछन् । मानवबाट एउटा भयानक कीरोमा रूपान्तरित हुन पुगेको ग्रेगोर स्याम्साको कथाले यस्तै केही त्रासपूर्ण व्यक्तिगत सत्यहरू तथा आधुनिक समाजका सामूहिक विरोधाभाषहरूलाई औंल्याएको छ ।
विश्वव्यापीकरणको समसामयिक संसार साँस्कृतिक र भाषागत अनुवादको संसार हो । मानिस, वस्तु, विम्ब, विचार र कृतिहरू देशहरूका सीमा नाघ्दै संसारभरि फैलिंदै गएका छन् । यस्तो अवस्थामा साहित्यिक र साँस्कृतिक कृतिहरूको अनुवादको कार्यमा तीव्रता आउनु स्वाभाविक मात्र नभएर आवश्यक पनि भएको छ । नेपाली साहित्यका उत्कृष्ट रचनाहरूलाई अङ्ग्रेजी, फ्रेन्च, जर्मन, जापानी, चिनीया तथा हिन्दीलगायतका अन्य भाषाहरूमा अनुवाद गर्नु आवश्यक छ । गएका केही वर्षभित्र यस्ता अनुवादहरू भएका पनि छन् । तर यसको साथसाथै अर्को आवश्यकता पनि छ, त्यो हो जुनसुकै भाषामा लेखिएका उत्कृष्ट विश्वसाहित्यका कृतिहरूलाई नेपालीमा अनुवाद गर्नु । रामचन्द्र के.सी.ले यसअघि ‘विश्वका उत्कृष्ट आधुनिक कथाहरू‘को माध्यमबाट ओ. हेनरी, शरउड एन्डर्सन, अर्नेष्ट हेमिङ्वे, ल्याङ्स्टन् ह्युज्, युडोरा वेल्टी, नागिब माफुज, जोन चिभर, सिन्थिया ओजिक, इजबेल आइएण्डे र ग्याब्रियल गार्सिया मार्केजका उत्कृष्ट कथाहरूलाई नेपाली पाठकहरूसमक्ष प्रस्तुत गरेका थिए । त्यही प्रयासलाई निरन्तरता दिंदै अहिले उनले काफ्काको ‘द मेटामोर्फसिस‘लाई नेपालीमा अनुवाद गरेका छन् । रामचन्द्रको अनुवादले मौलिक रचनाको औपन्यासिक संसारप्रति उचित न्याय गरेको छ जस्तो मलाई लागेको छ । अनुवादको विधा एउटा असाध्यै अप्ठ्यारो विधा हो । यसमा शब्दहरूको मात्र नभएर भावनाको पनि अनुवाद गर्नुपर्छ, साँस्कृतिक परिवेशको पनि अनुवाद गर्नुपर्छ । यस अप्ठ्यारो विधालाई अँगाल्दै रामचन्द्रले काफ्काको यस कथालाई निकै राम्रो ढङ्गबाट नेपालीमा रूपान्तरण गरेका छन् । त्यसलाई नेपाली भाषाको स्वरूप दिएका छन् ।
राम्रोसँग अनुवाद नभएका कृतिहरू नयाँ भाषिक स्वरूपमा अवतरित हुँदा विभिन्न अनुहार लिएर आइपुग्छन्, कीरोमा परिवर्तित भएको ग्रेगोर स्याम्साको अनुहारजस्तै । उत्कृष्ट अनुवादले कृतिको मौलिक अनुहारलाई भाषिक रूपान्तरणपछि पनि जस्ताको तस्तै राख्छ । अझ त्यसमा नयाँ बान्कीसम्म थप्छ । रामचन्द्र के.सी.को अनुवादले भाषिक रूपान्तरणको प्रक्रियालाई सहज र सरल बनाउँदै मौलिक कथाको भाषिक लय र साँस्कृतिक सन्दर्भलाई जोगाएको छ । भविष्यमा पनि उनको कलमले विश्वसाहित्यका धेरै भन्दा धेरै रचनाहरूलाई नेपाली पाठकहरूसम्म ल्याओस् भन्ने कामना गर्दछु ।
डा. संजीव उप्रेती
जिरो माइल, काठमाडौं
“काफ्का भनेको मेटामोर्फसिस, मेटामोर्फसिस भनेको काफ्का । विश्वसाहित्यमा मानवीय विद्रूपता र विडम्बनाको यसभन्दा भयानक र कारूणिक प्रतीक कथा सायदै अरूले लेखेका छन् । “—सरूभक्त
“रामचन्द्रले मूल कथामा व्याप्त सुक्षान्तर भेदहरूलाई कुशलतापूर्वक आफ्नो अधिनमा लिएर नेपालीमा गज्जबसँग प्रस्तुत गरेका छन् । उनको यस अनुवादले मूल कृतिको विषय र शैलीलाई न्याय गरेको छ ।”—अरुण गुप्तो
“प्रथम वाक्यमा नै कथाको उत्कर्ष उजागर गरेर फ्रान्ज काफ्काले अत्यन्त अस्वभाविक कथावस्तुलाई आफ्नो साहित्यिक विशिष्ठता र कथ्य-कौशलले द मेटामोर्फसिसलाई यथार्थपरक बनाउन सफल रहेका छन् । मुख्य पात्र ग्रेगोर स्याम्साको आत्मस्वतन्त्रता र उसको परिवारलाई चाहिएको आत्मनिर्भरताका लागि कथामा भएका परिवर्तन र घटना शृङ्खलाका रूपान्तरणले कथालाई पठनीय बनाएको छ ।” —अर्चना थापा, लेखक
“बीसौं शताब्दीका सर्वाधिक चर्चित कथामध्ये एक ।” —रोशन थापा ‘नीरव’, लेखक
“अकल्पित उल्झनमा उनिएको एक निरीह कायान्तरित देह ग्रेगोर स्याम्सा उजागर गरिजान्छ मानव नियती जो एक्लोपना र उद्दिग्नतामाझ अस्तित्व संकट ब्यहोर्न अभिशप्त छ ।” —कुमारी लामा, लेखक
“मोहभङ्ग, निराशा र भोक विसङ्गतिका आधारभूत आधारहरू हुन् जुन नियति यस कृतिको मुख्य पात्र ग्रेगोर स्याम्साले भोगेको छ । जर्मनेली स्वादको यो विसङ्गत टेक्सलाई अनुवादकले हाम्रो आफ्नैजस्तो स्वादमा पस्कन सफल भएका छन् । मलाई विश्वास छ ‘संसारभरिका ग्रेगोर स्याम्साहरूले यस कृतिभित्र आफ्नो ऐना देख्नेछन् र थप मजबुत भएर जिउनेछन् ।” —अशोक थापा, समालोचक
“१०५ वर्षअघि पहिलोपल्ट प्रकाशित काफ्काको उत्तम रचनामध्येको एक विशिष्ट कृति द मेटामोर्फसिस नेपाली पाठकका लागि आफ्नै भाषामा पढ्न पाउनु खुशीको कुरा हुँदै हो, यो कृतिको विश्वविस्तारको निरन्तरता पनि हो । यसको प्रकाशनले यो कृति अब नेपालीका लागि अपरिचित नरहने भयो !” —गोविन्द गिरी ‘प्रेरणा’, लेखक
“नेपाली भाषासाहित्य अनुवादका क्षेत्रमा चाहिं दारिद्र्य अवस्थामै रहेको देखिन्छ । विश्वप्रसिद्ध लेखक काफ्काद्वारा शताब्दीअघि रचित द मेटामोर्फसिसको अनुवाद नेपाली भाषाको श्रीवृद्धिका लागि थप अर्को बलियो उपलब्धि हुनेछ भन्ने मलाई लागेको छ ।” —इन्दिरा प्रसाई, लेखक
“विसङ्गति र निरर्थक विषयमा आधारित काफ्काको विश्वप्रसिद्ध कृति द मेटामोर्फसिसअहिलेको पिंढीले भौतिक दुनियाँमा मानवीय अवस्था र पीडा बुझ्न पढ्नैपर्ने हुन्छ । यो अनुवाद सरल, सलल, सबल र सशक्त छ ।” —तुलसी आचार्य, लेखक
“काफ्काको द मेटामोर्फसिस विश्वसाहित्यको एक मास्टरपीस हो । यसले शताब्दीकै एक महानतम साहित्यिक आन्दोलनलाई चिनाउँछ । त्यो हो ‘विसङ्गतिवाद’ । त्यो बुझ्नलाई काफ्काको प्रस्तुत कृति अपरिहार्य छ ।” —गोविन्दराज भट्टराई, समालोचक
“विसङ्गति एक बुझाई हो, मान्छेले दिएको ‘अर्थ’सङ्गत परिभाषा हो । द मेटामोर्फसिस पढेको दिनदेखि, हरेकपटक सडकमा निस्कँदा म मान्छेको भेषमा त्यही ‘अर्थ’को परिभाषा बनाउन घिस्रिरहेका यामानका कीराहरूबाहेक केही देख्दिनँ ।” —गनेस पौडेल, लेखक
“आज भन्दा १०५ वर्ष पहिले फ्रान्ज काफ्काको पाठ्य भूगोलमा जन्मिएको ग्रेगोर स्याम्सा नामको अजङ्गको कीरो अनुवादको बाटो हुँदै सय वर्षपछि नेपालीमा भित्रिएको छ । मान्छेबाट कीरोमा कायान्तरण भएको काफ्काको यस मानसपुत्रको विसङ्गत जीवन, एकाकीपन र महत्त्वहीन अन्त्यको कथालाई अनुवादकले कुशलतापूर्वक अङ्ग्रेजीबाट नेपालीमा भित्र्याएका छन् ।” —बलराम अधिकारी, अनुवादक
“विश्वभरका भूतपूर्व लेखक, समकालीन लेखक एवम् नवआगन्तुक लेखकहरूलाई हिप्नोटिक प्रभावमा पारिरहने यो कथाले कल्पनाशीलताको नूतन द्वार खोलिदिएको छ । मलाई थाह छ, मैले यो लेखिरहँदा संसारको कुनै न कुनै कुनामा, कुनै न कुनै मनुवालेद मेटामोर्फसिस अवश्य पनि पढिरहेको छ ।” —कुमार नगरकोटी, लेखक
Author: Franz Kafka
Translator: Ram Khatri
Illustrator: Sandipan Santra
Release: November, 2021
Language: Nepali
Format: Paperback & eBook
Pages: 122
Paperback ISBN: 978-1-7377552-0-3
eBook ISBN: 978-1-7377552-1-0
सन् २०१५ मा न्युयोर्कको पेस युनिभर्सिटीमा पुस्तक ‘प्रकाशन’ अध्ययन गर्दाताका युनिभर्सिटीको पहिलो तलामा रहेको पसल वार्न्स एन्ड नोबेलमा केही किताब खोज्दै थिएँ । त्यहाँ कुनै समय आफैंले अनुवाद गरेको कृति दमेटामोर्फसिसको ग्राफिक नोभेल बनेको देखें ।
थप खोजी गर्दा थाहा पाएँ कि काफ्काको उक्त कृति अन्तर्राष्ट्रिय बजारमा आज पनि उत्तिकै रुचाइँदो रहेछ । त्यति बेलै मैले दश वर्षअघि प्रकाशित मेरो नेपाली अनुवाद ‘रूपान्तरण’को दोस्रो संस्करण लिएर आउने सोच बनाएको थिएँ ।
सय वर्षभन्दा पहिले प्रकाशित पुस्तक भए पनि वर्तमान विषयवस्तु र सन्दर्भसँग काफ्काको यो कथा उत्तिकै मेल खान्छ । यो उपन्यासिकाले मानिसको सेल्फ-आइसोलेसन अर्थात् एक्लै बाँच्नुको पीडा, त्यस क्रममा आउने शारीरिक र मानसिक उतारचढाव, मानिसले दैनिक जीवनमा गर्ने सङ्घर्षको अर्थहीनता र त्यसबाट उम्कन उसले बुन्ने आत्मकेन्द्रित योजना आदिजस्ता अस्तित्ववादका मर्मलाई बेजोड ढङ्गले प्रस्तुत गरेको छ ।
अझ रोचक कुरा त कथाले आफ्नै सन्तानमाथि भेदभाव गर्ने संवेदनाशून्य अभिभावकको स्वार्थीपनमाथि समेत झटारो हानेको छ ।
काफ्काको दमेटामोर्फसिसमा अतियथार्थवाद, जादुयी यथार्थवाद र अस्तित्ववादको सङ्गम पाइन्छ । यस उपन्यासिकाको अनुवादमा मैले कथाको भाव र शैली दुवैलाई यथासम्भव न्याय गर्ने प्रयास गरेको छु । र यो दोस्रो संस्करणमा पुराना केही कमी-कमजोरीलाई पनि सच्याउने प्रयत्न गरेको छु ।’रूपान्तरण’भन्दा मेटामोर्फसिस नै पाठकको मस्तिष्क र हृदयमा बस्न सफल भएको महसुस गरी दोस्रो संस्करणमा अनूदित कथाको मूल शिर्षकलाई नै देवनागरी लिपिमा प्रस्तुत गरेको छु ।
अनौठो सपनाबाट एकाबिहानै ओछ्यानमा ब्युँझिंदा ग्रेगोर स्याम्साले आफ्नो शरीर डरलाग्दो कीरोमा परिणत भएको पायो । ऊ पिठ्युँकोको कडा खोलमाथि उत्तानो परेको थियो । यसो टाउको उचालेर हेर्दा उसले आफ्नो खैरो भुँडी अलिकता ट्याम्किएको अनि गहिरा खण्डहरूमा विभाजित भएको देख्यो । सिरक चिप्लिएर झन्डै पूरै भुइँमा खसिसकेको थियो । सम्पूर्ण शरीरको हिसाबमा अस्वाभाविक रूपले खिरिला तर अनगिन्ती खुट्टाहरू उसको आँखा अघिल्तिर असहाय भएर एकनाससित चल्मलाइरहेका थिए ।
“लौ न नि, मलाई के भयो यस्तो ?”, ऊ आत्तियो । यो कुनै सपना थिएन । ऊ सुतिरहेको ठाउँ अवश्य पनि मान्छेकै कोठा थियो, जुन पहिलेजस्तै सानो र चिरपरिचित चारवटा भित्ताहरूले घेरिएको थियो । छेउको टेबुलमा कपडाका केही नमुनाहरू झोलाबाहिर निस्केर फिंजारिएका थिए । स्याम्सा कपडाका नमुना देखाउँदै हिंड्ने घुमुवा बिक्रेता थियो । एकातिरको भित्तोमा एउटा तस्वीर झुण्डिरहेको थियो । उक्त तस्वीरलाई ग्रेगोरले चित्रहरू छापिएको एउटा पत्रिकाबाट अलिक पहिलेमात्र काटेर निकालेको थियो र त्यसलाई अहिले एउटा चमकदार फ्रेममा राखेर सजाएको थियो । त्यो तस्वीरमा भुवादार टोपी र लुगा लगाएकी एउटी केटी थिई । चित्रमा ऊ सीधा बसिरहेकी थिई । उसका दुवै पाखुरा भुवादार कपडाभित्र कतै लुकेका थिए ।
ग्रेगोरका आँखा झ्यालतिर गएर टाँसिए । बाहिर पानी दर्किरहेको थियो । झरीका बुँदहरू झ्यालका पलेटामा बज्रिंदा निस्किएको सङ्गीतमय आवाज भित्रैसम्म सुनियो । यसले ग्रेगोरलाई क्षणिक आनन्द दियो । “यो कहालीलाग्दो अवस्थालाई बिर्सिएर केही बेर यत्तिकै पल्टिँदा कस्तो होला ?” ऊ एक्लै बर्बरायो । उसको दाहिने कोल्टो फर्केर सुत्ने बानी थियो तर अहिले ऊ पहिलेजस्तो फरक्क फर्किन सकेन । कैयौंपटक उसले दाहिने कोल्टो फेर्ने अथक प्रयत्न गर्यो तथापि चिप्लिएर साविककै हालतमा उत्तानो पर्यो । उसले हाराहारी सयपटक जति सीधा फर्कने कोशिश गर्यो । उठ्नका लागि प्रयासरत खिरिला खुट्टाहरूको कन्तबिजोग देख्नु नपरोस् भनेर उसले त्यति बेला आँखा चिम्लन्थ्यो । अचानक शरीरको एक छेउमा उसले कहिल्यै नभोगेको गहिरो दुखाइको अनुभूति गर्यो र उठ्ने प्रयत्नलाई चटक्कै छाडिदियो ।
“हे भगवान !”, उसले ईश्वरलाई सम्झियो, “कस्तो नोकरी लाएछु नि मैले ! बिहानदेखि साँझसम्म डुलेको डुल्यै । एकठाममा बसेर आनन्दसँग कुनै यौटा काममा खटिनु पाए पो ! यो जोगीपाराको घुमन्ते जागिर कस्तो झ्याउलाग्दो हँ ? खालि हिंडेको छ, हिंडेको छ । पट्यारै लाग्ने ! रेलका रेल कुद्नु परेको छ । जहिल्यै रेल छुट्ला भने पीर ! न खानाको ठेगान, न बस्नाको ! पुराना भन्नु न कुनै साथीभाइ छन्, न कुनै सम्बन्ध । नयाँ ठाउँ गयो, नयाँ मान्छे भेट भयो, आज चिन्यो, भोलि बिर्सियो । नयाँ साथी आयो पुरानो गयो । अहिले आएर यस्तो भयो गाँठे जिन्दगी ! मेरो ज्यानलाई के भो यस्तो ? कतै यो कायान्तरणले हिजोका सबै असङ्गतिलाई निमिट्यान्नै पारिदिन खोजेको पो हो कि !”
ग्रेगोरलाई पेटको माथिल्लो भागतिर दुखेको महसुस भयो । दुखेको ठाउँको निर्ख्यौल गर्न उसले आफ्नो पिठ्युँलाई बिस्तारै माथितिर खिच्दै सजिलोसँग टाउको उठाएर हेर्न खोज्यो । दुखेको ठाउँमा उसले स-साना सेता थोप्लाहरूले ढाकिएको देख्यो । देख्यो मात्रै, यो कस्तो खालको दुखाइ हो भन्ने कुरामा उसले कुनै भेउ पाउन सकेन । दुखेको ठाउँमा उसले एउटा खुट्टोले छुस्रुक्क पार्यो, छुवाइले उसलाई एक प्रकारको चिसो काउकुती लाग्यो । उसले तुरून्तै खुट्टो तानेर यथास्थानमा राख्यो ।
Download FREE sample or consider purchasing to continue reading!
फ्रान्ज काफ्का बीसौं शताब्दीका महान् साहित्यकार हुन् । उनको जन्म सन् १८८३, जुलाई ३ तारिखका दिन प्रागको एक जर्मनभाषी यहुदी परिवारमा भएको थियो । यहुदी एक अपहेलित समुदाय थियो । काफ्काका बाबु मध्यमवर्गीय थोक व्यापारी थिए, जो दक्षिणी बोहेमियाबाट सुन्दर ऐतिहासिक शहर प्रागमा बसाइसराइ गरेर आएका थिए । प्राग चेक रिपब्लिकको राजधानी र देशकै सबैभन्दा ठुलो शहरका रूपले चिनिन्छ ।
फ्रान्ज काफ्का आफ्ना बाबुआमाका ६ सन्तानमध्ये जेठा छोरा थिए । सानै छँदा उनका दुई भाइहरूको मृत्यु भएको थियो भने बहिनीहरूले पनि अल्पायुमै संसार छाडेका थिए । त्यसो त काफ्काका बहिनीहरू नाजी कन्सन्ट्रेसन क्याम्पमा मारिएको भन्ने अनुमान पनि गरिन्छ । काफ्काको जीवन सरल तर निरस थियो । निरस हुनुको एउटा कारण विपन्नता थियो । अर्को कारण उनका हुकुमी बाबु हर्मन काफ्का थिए । हर्मन कडा मिजासका मानिस थिए । साह्रै झोकी स्वभावका, छोराछोरीको हुर्मत लिन रत्तिबेर नलगाउने । आफ्ना निरंकुश बाबुसँग काफ्का थर्कमान हुन्थे । मुखेन्जी पर्नै डराउँथे । बाबुको नजरमा उनी एक नालायक सन्तानमात्रै थिए । त्यसैले पनि फ्रान्ज काफ्काको बाल्यकाल र युवावस्था आफ्ना बाबुसँग मनमुटाव भएरै बित्यो । उनी आफ्ना बाबुलाई सम्मान अवश्य गर्थे तर हृदयमा उनीप्रति गहिरो विषाद थियो । उनका साहित्यिक कृतिहरूमा बाबुछोराबीचको यही विषादपूर्ण सम्बन्धको मिहिन बिस्तार पाइन्छ, जसलाई उनले मानिस र सर्वशक्तिमान ईश्वरबीचको अन्तर्सम्बन्धको रूपमा चित्रण गरेका छन् ।
सन् १८९३ देखि १९०१ सम्म काफ्काले ओल्ड टाउन स्क्वायरमा अवस्थित एक जर्मन व्याकरण विद्यालयमा अध्ययन गरे । त्यहाँ उनको विद्यार्थीकाल अत्यन्त कडा शैक्षिक वातावरणमा बित्यो । त्यसपछि उनी प्रागस्थित कार्ल फर्डिनान्ड युनिभर्सिटीमा गई जर्मन साहित्यको अध्ययन गर्न थाले । तर दोस्रो अर्धवार्षिकीमा भने उनले साहित्य छोडेर कानुनको अध्ययन गर्न थाले । सन् १९०६ मा उनको कानुनको अध्ययन सकियो । अध्ययनलगत्तै उनले वर्षौंसम्म कानुनसँग सम्बन्धित उच्चाटलाग्दा कामहरू गरे ।
काफ्काले प्रशस्तै कथा र उपन्यास लेखे तर तीमध्ये थोरैमात्र प्रकाशित भए । उपन्यास र कथा लेख्नुका अलावा काफ्काले आफ्नो जीवनकालमा अनेकौं थरी काम गरेका छन् । अनेकौं परिचय बाँचेका छन् । उनले कहिले विमा कम्पनीमा जागिर गरे, कहिले उद्योग गरे, कहिले व्यवसाय थाले । उनले जीवनको धेरै खण्ड आफ्ना अभिभावकसँगै बिताए । अभिभावकका जन्मदिनमा उनले स-साना नाटक लेखेर तीनवटी बहिनीहरूलाई अभिनय गराउँथे, आफूले निर्देशन गर्दथे । काफ्का अत्यन्तै लगनशील अध्येता पनि थिए । उनी गेटे, पास्कल, फ्लबेयर, किर्केगार्ड, दोस्टोएभस्की, डिकेन्स र नित्सेबाट निक्कै प्रभावित थिए । उता काफ्काको लेखनीको प्रभाव अल्बर्ट कामु, आइज्याक बस्याभिज सिङ्गर, ग्याब्रियल गार्सिया मार्केज र सलमान रूस्दीजस्ता विश्वका महान् प्रतिभाशाली साहित्यकारहरूमा परेको पाइन्छ ।
काफ्काको जीवनको धेरै खण्ड अत्यासलाग्दो एकाकीपनमा बितेको पाइन्छ । परिवार र आफू वरिपरिको परिवेशदेखि पूरै एक्लिनुको पीडाबोध उनीसँग गहिरोसँग थियो । उनका प्रायः कथामा आफ्नै यथार्थ जीवन-भोगाइ प्रतिविम्बन पाइन्छ । परिवार, मित्रमण्डली र समाजदेखि विरक्तिएर अपनाएको स्वैच्छिक एकान्तबास (सेल्फ-आइसोलेसन) को एकलकाँटे अनुभव, असुरक्षा, घृणा, नैराश्य, तिक्तता र अविस्वाश उनका निजी भोगाइका मूल विषय हुन् । काफ्काका रचनाहरूमा मान्छेले आफूलाई एउटा रहस्यमय जन्जालमा फँसेको पाउँछ, जहाँबाट ऊ कहिल्यै उम्कन सक्दैन ।
फ्रान्ज काफ्काले सन् १९०८ देखि अष्ट्रियन सरकारको स्वामित्वमा रहेको कामदारहरूको दुर्घटना विमा गराउने संस्थामा काम शुरू गरे । स्वास्थ्यका खराबीले गर्दा त्यहाँ उनले खूब दुःख झेले र निम्नस्तरको कामदार भएर बाँच्नुको पीडा भोगे । यही भोगाईको सेरोफेरोमा उनका दुई प्रसिद्ध कथाहरू उनिएका छन्ः ‘कन्भरसेसन विथ ए बेगर’ (एक भिकारीसँग वार्तालाप) र ‘कन्भरसेसन विथ ए ड्रंकर्ड’ (एक जड्याहासँग वार्तालाप) । यी दुवै कथा उनको आख्यान ‘डिस्क्रिप्सन अफ् स्ट्रगल’ (सङ्घर्ष विस्तृति) का अध्यायहरू थिए ।
खराब स्वास्थ्यका बीच उनले सन् १९२२ मा विमा संस्थाबाट अवकाश लिए । काफ्कालाई लामो समयदेखि टाउको दुख्ने, राती निद्रा नलाग्ने, कब्जियत र अरू विभिन्न रोगले च्यापिरहेको थियो । उनलाई खानेकुरा निल्नसमेत गाह्रो हुन थालेको थियो ।
सन् १९१२ तिर प्रकाशित ‘चिन्तना’ (कटेम्प्लेसन) काफ्काको पहिलो कथा-सङ्ग्रह हो । यो सङ्ग्रहमा उनले प्राग वरपरका देखावटी र वास्तविक जीवनशैलीबीचको भिन्नतालाई उजागर गरेका छन् । यसले मध्यमवर्गीय शहरिया जीवनको खोक्रोपनलाई उदाङ्गो पारेको छ । यो पुस्तक काफ्काले आफ्ना घनिष्ट मित्र म्याक्स ब्रडका नाउँमा समर्पित गरेका छन् । काफ्का र म्याक्स ब्रडको भेट सन् १९०२ मा विश्वविद्यालय अध्ययनका क्रममा भएको थियो । म्याक्स ब्रड प्रागमा जन्मिएका लेखक, सम्पादक र पत्रकार थिए । विश्वविद्यालयमा पहिलो भेट भएको दिनदेखि काफ्काको मृत्युपर्यन्त पनि म्याक्स ब्रड नाम काफ्कासँग जोडिएर आइरह्यो । काफ्काको पहिलो जीवनी म्याक्स ब्रडले नै लेखेका थिए । त्यसपछि भने सयौं समालोचकहरूले काफ्काको व्यक्तित्व र कृतित्वका विषयमा कलम चलाएका छन् ।
काफ्काको जीवनमा विभिन्न महिलाहरू जोडिएर आइरहे तर तीमध्ये कसैसँग पनि उनको सम्बन्ध लामो समय टिक्न सकेन । सन् १९१२ को सेप्टेम्वरमा काफ्काले बर्लिनकी फिलिस बावर नामकी एक यहुदी युवतीलाई भेटे र मन पनि पराए । पाँच वर्षसम्म तिनीहरूबीच प्रेमको चक्कर चल्यो । सन् १९१७ को केही समय उनीहरू सँगसँगै पनि बसे । फिलिससँगको सम्बन्ध काफ्काको साहित्यिक यात्रामा एउटा कोसेढुङ्गा सावित भयो । उनको नाउँमा काफ्काले प्रसिद्ध कृतिहरू लेखेका छन् । सेप्टेम्वर महिनाको कुनै एक रातभरमा काफ्काले फिलिसको नाउँमा एउटा प्रसिद्ध कथा ‘फैसला’ (भर्डिक्ट) लेखिभ्याएका थिए । यो कथामा काफ्काले आफूले भोगेको विसङ्गत संसारको उल्लेख गरेका छन् । आत्मग्लानिको रापमा सेकिएर बाँचिरहेको एउटा कर्तव्यपरायण छोराले बाबुको अगाडि जीवनको आहुति दिएको मार्मिक घटनालाई कथामा प्रस्तुत गरिएको छ । फिलिस बावरसँग सँगसँगै बस्न थालेको एक वर्ष नपुग्दै काफ्काले आफूलाई क्षयरोग भएको थाहा पाए । सोही साल बावरसँग उनको सम्बन्धमा खटपट शुरू भयो र अन्ततोगत्वा उनीहरू एकअर्काबाट अलग्गिन पुगे । खटपट शुरू हुँदाताका उनीहरू सँगै बस्न थालेको भर्खर ६ हप्तामात्र भएको थियो । त्यसबखत काफ्काले फिलिसका बाउलाई उनकी छोरी काफ्काजस्तो साहित्य अनुरागीसँग रमाउन नसक्ने कुरा उल्लेख गर्दै एउटा लामो पत्र पनि लेखेका थिए ।
‘दि स्टोकर’ सन् १९१३ तिर लेखिएको काफ्काको अर्को कथा हो, जुन पछि गएर ‘अमेरिका’ भन्ने उपन्यासको एक भाग बन्यो । यो उपन्यासले सन् १९१५ को ‘फन्टान प्राइज्’ प्राप्त गरेको थियो । यो नै काफ्काले पाएको पहिलो सार्वजनिक ख्याति थियो ।
अहिले तपाईंको हातमा रहेको पुस्तक ‘द मेटामोर्फसिस’ सन् १९१५ मा प्रकाशित काफ्काको सर्वाधिक चर्चित उपन्यासिका हो । कथाको पहिलो वाक्यमै मूल पात्र ग्रेगोर स्याम्साको शरीर अनायासै भयानक कीरोमा परिवर्तन भएको हुन्छ । कथामा कीरोमा कायान्तर ग्रोगोरको अवस्था कति दयनीय बन्दै जान्छ भन्ने देखाइएको छ । बाँच्नका लागि अनेकन सङ्घर्ष गर्दागर्दै अन्त्यमा त्यो प्राणी अर्थात् ग्रेगोर स्याम्सा मर्दछ ।
‘दण्ड नगरभित्र’ (इन द पिनल कलनी) सन् १९१४ मा लेखिएको उनको एउटा डरलाग्दो कथा हो भने ‘गाउँले चिकित्सक’ (द कन्ट्री डक्टर) प्रथम विश्वयुद्धताका अर्थात् सन् १९१६ देखि १९१८ को बीचमा लेखिएको र १९१९ तिर प्रकाशित कथासङ्ग्रह हो । यो कथा-सङ्ग्रहलाई उनले आफ्ना बाबुमा समर्पण गरेका छन् । त्यसको एक वर्षपछि नै उनले अर्को चर्चित कथा ‘एउटा भोको कलाकार’ (अ हंगर आर्टिस्ट) लेख्न शुरू गरेका थिए । यो कथालाई काफ्काको सबभन्दा घतलाग्दो नैतिक कथा मानिन्छ । कथाले जीवनको अर्थहीनतालाई अर्थपूर्ण तरिकाले प्रस्तुत गरेको छ ।
काफ्काका अत्यन्तै रोचक कृतिमध्ये एक हो, सन् १९१९ ताका उनले आफ्ना हैकमी पितालाई लेखेको सय पृष्ठ लामो चिठी । यसमा काफ्का सानो हुँदाखेरी बाबु-छोराबीच हुर्किएको कटुतापूर्ण सम्बन्धलाई उतारिएको छ । काफ्काले आफ्ना तीनवटा सुन्दरतम उपन्यासका खण्डहरू ‘अमेरिका’, ‘द ट्रायल’ र ‘द काशल’ क्रमशः सन् १९१२, १९१४, र १९१८ मा लेख्न शुरू गरेका थिए तर तिनलाई उनले कहिल्यै पूरा गर्न सकेनन् । ती अधुरा उपन्यासहरू म्याक्स ब्रडले उनको मृत्युपछि सम्पादन गरेर नछपाइदिएका भए ती सधैंका निम्ति हराउने थिए । त्यसो त काफ्काले ब्रडलाई ‘आफ्ना सबै अप्रकाशित पाण्डुलीपिहरू नष्ट गरिदिनू’ भनेका थिए रे !
एक तमासको जागिर, ‘पट्यारलाग्दो’ लेखनकार्य, पिताको रूखो र हेपाहा व्यवहार आदिबाट जेलिएको निरस जिन्दगीदेखि दिक्दार भएका काफ्काले आफ्ना साहित्यिक सल्लाहकार तथा हितैषी मित्रसमेत रहेका म्याक्स ब्रडलाई ‘आफ्ना अप्रकाशित पाण्डुलीपि नष्ट गरिदिनू’ भन्नु सायद स्वाभाविकै थियो होला । तर ब्रडले काफ्काको अनुरोधलाई बेवास्ता गरिदिए ।
सन् १९२० देखि काफ्काले प्रसिद्ध उपन्यास ‘किल्ला’ (द काशल) लेख्न थालेका थिए । त्यसै बेला उनको स्वास्थ्य एकाएक खस्किन थाल्यो । उनलाई आराम गर्नका लागि मेरानो र टेट्रा माउन्टेनतिर लगियो । अलि निको भएपछि सन् १९२३ को गर्मी बिदामा काफ्का आफ्नी बहिनी ओल्गासँग बिदा मनाइरहेका थिए । त्यसै बेला उनले १९ वर्षीया डोरा डाइमन्ट नामकी एक युवतीलाई भेटे, जो बर्लिनमा एक यहुदीको घरमा काम गर्थिन् । काफ्का र उमेरले आधा कान्छी डोराबीच गहिरो पिरती बस्यो । उनकै लागि काफ्काले प्रागमा लामो समयदेखि सँगै बस्दै आएको आफ्नो परिवारबाट अलग भए । सन् १९२३ को जुलाइदेखि बर्लिनमा आफ्नै प्राणप्यारीसँग बस्न थाले । डोराले काफ्कालाई जीवनको अन्तिम घडीसम्मै साथ दिइन् । आफ्नो अभिभावकको हैकमी बन्धनबाट काफ्काले जीवनमै पहिलोपटक उन्मुक्ति पाए । बर्लिनबाट काफ्काले जीवनकै अन्तिम संयोगान्त कथा लेखेः ‘मेरी सानु’ (द लिटल उमन) । केही समयपछि काफ्का प्राग फर्के । यसको तीन महिनापछि अर्थात् सन् १९२४ को जुनमा उनले यस धर्तीबाट बिदा लिए ।
काफ्काको मुख्य प्रतिभा भनेकै कल्पनाको माध्यमबाट सपनारूपी संसारलाई बिपनाजस्तै गरेर देखाउन सक्नु थियो । उनको प्रसिद्ध कथा ‘द मेटामोर्फसिस’लाई समालोचकहरूले कथाकारकै जीवन-वृत्तान्तका रूपमा लिएका छन् । यस कथामा प्रमुख मानव-पात्र ग्रेगोर स्याम्सा प्रागमा अवस्थित परिवारसँगै आफ्नो कोठामा सुतिरहेका बखत एकाबिहान अचानक आफूलाई एउटा भयानक कीरोमा रूपान्तर भएको पाउँछ । कथाको पहिलो वाक्य ‘अनौठो सपनाबाट एकाबिहानै ओछ्यानमा ब्युँझिंदा ग्रेगोर स्याम्साले आफ्नो शरीर डरलाग्दो कीरोमा परिणत भएको पायो’ अङ्ग्रेजी आख्यान साहित्यमै सर्वाधिक चर्चित शुरू-वाक्य मानिन्छ । एउटा भयानक कीरोमा कायान्तर भएपछि परिवारले उसलाई गरेको तिरस्कार, बेवास्ता अनि त्यसले उब्जाएको डरलाग्दो एकाकीपन र जीवनप्रतिको नैराश्यलाई मिहिन तवरले कथामा उनिएको छ ।